पाँचथर । पाँचथर जिल्लामा सरकारी कार्यालयकै भवन मापदण्ड विपरीत बनाइरहँदा पनि सम्बन्धित निकाय मौन छ ।
सदरमुकाम फिदिममा मात्रै अहिले एक दर्जन बढी सरकारी कार्यालयका भवनको नक्सा पास छैन । ती भवन केही निर्माणाधीन अवस्थामा छन् भने केही भवन निर्माण भइसकेका छन् ।
नगरपालिकामा राजश्व तिरेर अनिवार्यरुपमा नक्सा पास गरी मापदण्डअनुरुपको भवन निर्माणको अनुमति लिएर काम अघि बढाउनु पर्ने भए पनि धमाधम मापदण्ड विपरीत भवन निर्माण भइरहेका छन् ।
नगरपालिका बन्नु पूर्व पनि नगर विकास समितिमार्फत नक्सा पास गर्नुपर्ने व्यवस्था थियो । तोकिएको मापदण्ड पु¥याएरमात्र जग्गा पास हुने गर्छ । सर्वसाधारणलाई जग्गा पास गर्न दबाब सिर्जना गरिरहँदा सरकारी भवनको जग्गा पासको प्रक्रियासमेत अघि बढ्न सकेको छैन ।
भूकम्पपछि सरकारले निर्धारण गरेको मापदण्डअनुसार मात्र भवन निर्माण गर्न पाइने व्यवस्था छ । फिदिम नगरपालिकामा निर्माण भइरहेका सरकारी भवनको नक्सा पास नभएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताउनुभयो ।