विर्तामोड । २६ बर्षको एउटा युवक साधारणतया जागिर खान भौंतारिरहेको हुनसक्ला । या त पैसा कमाउन विदेश जाने सुरसार कस्दै गरेको होला । त्यस्तै झापा विर्तामोड १० का २६ बर्षिय विशाल राई जागिर खान अयोग्य भएपछि कृषि कर्ममा लागे ।
जागिरमा कमाउने भन्दा धेरै गुणा बढी उनले आफ्नो माछा पालन व्यवसायमा कमाइरहेका छन् ।
आफू जस्तै उमेरका युवा जागिरका लागि भौंतारिरहेका बेला उनले करीब १० जनालाई रोजगारी दिनका साथै लाखौं आम्दानी गरिरहेका छन् ।
विशालको सजावटका माछा एक्वारियम पसलमा अपरान्ह पुग्दा उनी एक्वारियमका माछालाई खानेकुरा दिँदै थिए । कति प्रजातिका एक्वारियममा राखिने माछा पाइन्छ उनी कहाँ ? विशाल भन्छन्, ‘मसंग ४० प्रजातिका माछा छन् । घर सजावटका लागि पनि अचेल मानिसहरुले एक्वारियम राख्न थालेका छन् ।’
कहाँबाट ल्याउँछन् उनले सजावटका माछाका भुरा ? विशालले भने, ‘मैले भारतको कोलकाता तथा थाइल्याण्डबाट माछाका भुरा ल्याउने गरेको छु ।’
सजावटका माछासंगै विशालले माछा पालन पनि गरेका छन् । उनले करीब १ विगाह जमिनमा माछा पालन गरेको करीब ३ बर्ष भयो । माछाको उत्पादन बर्षेनी बढने क्रममा रहेको उनले सुनाए ।
त्यसैगरी उनको आम्दानी पनि बढ्ने क्रममा छ । उनको माछा फर्म लाखौं रुपैयाँको आम्दानीको स्रोत बनेको छ । विशालले भने, ‘गत साल २५ टन माछा उत्पादन भएको थियो । यसपाली करीब ५० टन उत्पादन हुन्छ होला ।’
बेला बेला बजारको उतार चढावले केही समस्या दिनेगर्छ । तर घाटा नै देखिने गरिको उतार चढाव भने अहिलेसम्म आफूले भोग्नु नपरेको विशालको अनुभव छ ।
विशालको माछा फर्ममा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । चार जना पूर्णकालिन छन् भने अन्य आंशिक । २६ बर्षको उमेरमा कृषि उद्यमी बन्ने प्रेरणा कसरी पाइयो ? विशालले भने, ‘जागिरमा अनुत्तीर्ण भएपछि कृषि रोजेको हुँ ।’
हालै उनी राष्ट्रपतिबाट राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित पनि भए । देशभरका १० प्रतिभामध्ये उनी एक थिए । उनी भन्छन्, ‘जति बेला पनि आवश्यक पर्ने कृषि उपज उत्पादनमा अब युवापुस्ता जाग्नुपर्छ ।’
जागिर खान नसकेको भाइले के गर्ला र, विशालकी दिदी मेनुकाको मनिस्थिति अहिले आएर एकाएक परिवर्तन भएको छ । भाइको उद्यममा उनको दरिलो साथ छ ।
कृषि उद्यममा लागेका युवामध्ये विशाल राई एक सफल उद्यमीको रुपमा स्थापित भएको कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीको प्रतिक्रिया छ ।
विशाल भन्छन्, ‘कृषि उद्यम, उद्यमको रुपमा मात्र नभएर प्रत्येक मानिसको जीवनसंग गाँसिएको विषय हो ।’