काठमाडाैं । नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँहरुले नेपाल र भारतबीच रहेका सीमा विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल र भारतबीच देखिएका सीमा समस्या अन्तर्राष्ट्रिय सीमाको आधारमा समाधान गर्नुपर्ने बताउँदै नेपालमा कालापानी र सुस्ता बाहेक कुनै पनि ठाउँमा सीमा समस्या र विवाद नभएकोले छपकैयामा सुगौली सन्धिको आधारमा सीमा नक्सा बनाएको स्पष्ट पार्नुभयो ।
पहिलेको सीमा नक्सा अझै पूर्णता नभएकाले त्यसलाई पूर्णता दिने काम भइरहेको बताउँदै उहाँले सीमा नक्सामा भएका कमजोरी सच्चाई नेपालको भूमि भारतीय पक्षबाट अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।