
काठमाण्डाैं । नेपाल निजामती कर्मचारी संगठनले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न सरकारलाई आग्रह गरेको छ ।
संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गरे संगठनका पदाधिकारी एवं सदस्य जुनसुकै ठाउँमा गएर काम गर्न तयार रहेको बताउनुभयो ।
उहाँले संघबाट प्रदेश तहमा कर्मचारी पठाउँदा जुनसुकै तहका कर्मचारीलाई एक श्रेणी बढुवा गरी पठाउनुपर्नेमा जोड दिनुभयो । संगठनले वर्तमान सरकारबाट भएका पूर्वाग्रही ढंगका नियुक्ति, सरुवा, बढुवा, काजलगायतलाई खबरदारी गर्दै आएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खटिएर निर्वाचन सफल गर्ने कर्मचारीलाई धन्यवाद दिनाका साथै कर्मचारी समायोजन गर्दा आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनसँग वार्ता र संवाद गर्नुपर्नेमा जोड दिएको छ ।