काठमाण्डौँ । भौगोलिक विकटता र दैनिक कार्यव्यस्तताले कसैले पनि विश्वविद्यालयको डिग्री हासिल गर्न अब बञ्चित हुन नपर्ने भएको छ ।
नेपाल खुला विश्वविद्यालय विधेयक व्यवस्थापिका संसदबाट बिहीबार बहुमतबाट पारित भएपछि आफू बसेको ठाउँबाटै विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने ढोका खुलेको हो ।
एक दशकदेखि नेपालमा छलफल हुँदै आएको खुला विश्वविद्यालय विधेयक संसदबाट पारित भएपछि नेपालमा विश्वविद्यालयको संख्या पनि १० पुगेको छ । खुला विश्वविद्यालयको अवधारणा लागू हुँदा विदेशमा रहेका लाखौ श्रमिकले त्यहि बसेर नेपाली पाठयक्रममा डिग्री हासिल गर्न पाउनेछन् ।
‘केही दशकभित्र हामी नयाँ ठाउँमा पुग्नेछौ । प्रविधि माथिको विस्तार र पहुँचलाई अगाडि बढाउँछौ । खुला विश्वविद्यालयलाई गुणात्मक ढंगले व्यवस्थित गर्नु पर्नेछ’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ‘संसारभर छरिएका नेपाली श्रमिकको शिक्षामा पहुँच हुनेछ । उनीहरुको प्रतिभा, क्षमता, अनुभव र पुँजी नेपालसँग जोडिनेछ । उनीहरुलाई हामीले भावनात्मक रुपमा समेटन खोजेका छौँ ।’
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ।