काठमाण्डौं । सरकारले यही असारभित्र अर्थात् अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकास खर्च गर्दैछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ आजको अन्नपूर्ण पोष्टमा खबर छ । आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ। चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भए पनि अर्थ मन्त्रालयले संशोधित अनुमानमार्फत एक खर्ब ५९ अर्ब खर्च हुने अनुमान गरेको छ। झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन्। गुणस्तरको हिसाबले यसरी पिच गरिने सडकको आयु छोटो हुने र भत्कने क्रम नरोकिए भए पनि आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चको गति रोकिएको छैन।
सरकारी कार्यालयले असार १५ पछि बजेट फ्रिज हुने भन्दै कार्यालयमा भुक्तानीका लागि निकै आएको निवेदनको भुक्तानी दिने हुँदा काम भए पनि खर्च अन्तिममा देखिने गरेको निर्माण व्यवसायीको भनाइ छ। सरकारले बजेट खर्चमा पारदर्शिता ल्याउन आर्थिक वर्ष २०६७/६८ मा आर्थिक वर्षको अन्तिम तीन महिना कुल विकास बजेटको ४० प्रतिशतभन्दा बढी नगर्ने र असार महिनामा २० प्रतिशतभन्दा बढी खर्च नगर्ने नीति सार्वजनिक गरेको थियो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको अन्तिम १६ दिनमा अहिलेसम्मकै बढी खर्च हुन्छ। यसमा अन्तिम सात दिनमा कुल विकास खर्चको ५० प्रतिशत खर्च हुने सम्भावना छ। अहिले दैनिक एक अर्बभन्दा तलको भुक्तानी गइरहेको देखिन्छ।