चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने छ ।
गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः बाटो रोकेर काम गरिँदै आएको छ । दिउँसो नरोकिन्जेल रातिमा रोकेर काम गरिने छ ।
गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणका रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।
रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताउनुभयो । उहाँले रातिमा रोक्दा शुन्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शुन्य दशमलव २७ प्रतिशत काम भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताउनुभयो । समयमा काम सक्नुपर्ने र जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।