विर्तामोड । नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज बनाउने उद्धेश्यका साथ तीन बर्ष अघि उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिन्ह कार्यान्वयनमा आएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त चिन्ह चिया उद्योगीहरुलाई वितरण गर्ने तयारी थालेको छ।
नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ तयार भएपछि नेपालको उत्पादनको आधिकारिक व्यापारिक चिन्ह कार्यान्वयनमा आएको हो। बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार उद्योगीले चिन्ह प्राप्त गर्नका लागि बोर्डमा निवेदन दिनुपर्ने छ।
उनले भने, ‘निवेदन दिएपछि निर्देशिका अनुसार चियाको उत्पादन छ कि छैन भनेर हेर्नका लागि हामीले समिति बनाएका छौं। सोही समितिले स्थलगत हेरेर निर्णय गर्छ।’
व्यापारिक चिन्ह सेतो वा कालो रंगको पृष्ठभूमिमा खरानी वा सेतो रंगले दुईवटा हिमालको आकारसहित अङ्ग्रेजीमा ‘नेपाल’ अनि हरियो रंगले ‘टि’ अर्थात चिया र त्यसको ठीक मूनि खरानी वा सेतो रंगले ‘क्वालिटी फ्रम द हिमालयज’ अर्थात हिमालयबाट गुणस्तर लेखिएको हुनेछ।
तर उक्त चिन्ह प्राप्त गर्न चाहीँ त्यति सहज छैन।
बोर्डका कार्यकारी निर्देशक गौतमले भने, ‘रसायनिक विषादी प्रयोग भएको हुन नुहने, चिया मजदुरहरुले चिया टिप्दा कस्ता साधन प्रयोग गरेका छन्, टिपेर समयमा कारखानामा पुर्याएका छन् कि छैनन् भन्ने कुरा हेरिन्छ।’
गुणस्तरीय उत्पादनका लागि किसान तहसम्म पनि यस्ले सचेतता ल्याउने चिया उद्योगी डिल्ली बाँस्कोटाले बताए।
छिमेकी देश भारतको दार्जिलिङको चियाले विश्व बजारमा ख्याति कमाएको तर नेपालको चिया भारतकै मन्डीहरुमा लगेर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताका माझ व्यापारिक चिन्हले अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाले स्थान पाउने अर्का चिया उद्योगी बुद्ध तामाङ बताउँछन्।
अहिले जुन जुन देशहरुमा नेपाली व्यवसायीले आफैंले चिया निर्यात गरिरहेका छन्, ति देशहरुमा सरकारले तुरुन्त व्यापारिक चिन्ह दर्ता गरिदिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। नेपालमा बार्षिक करीब ५० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको छ।