बिर्तामोड । कौटिल्य एजुकेशन फाउण्डेसनले सञ्चालन गरेको पूर्वाञ्चल एकाडमीको कार्यालय कोठमा गएराति चोरी भएको छ ।
कार्यालयको ढोकामा लगाइएको कब्जा तोडेर भित्र पसी दुईवटा दराज र डोनेशन बक्स फोरेर नगद तथा एकथान ल्यापटप चोरी भएको प्रिन्सिपल केशव ढुङ्गानाले जानकारी दिए । ढोकाको कब्जा तोडेर भित्र पसेको चोरले दराज फोरेर कागजपत्र जथाभावी फालेको, ल्यापटप लिएर गएको, दराजमा राखिएको पेटी क्यास १२ सय रुपैयाँ र डोनेशन बक्समा रहेको करिब १५ हजार रुपैयाँ लगेको उनले बताए ।
फाउण्डेसनको कम्पाउण्डभित्र राति पनि बस्ने पियन ज्ञानबहादुर कार्की र क्यान्टिन सञ्चालक भारतीय नागरिक सञ्जय महेश्वरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पुर्पक्षका लाथि लगेको जनाइएको छ ।
चोरी भएको ल्यापटपमा विद्यालयका प्रशासनिक चिठी पत्र, नीति नियम तथा शिक्षा मन्त्रालयदेखि जिल्ला शिक्षा कार्यालयसम्मले पठाएका निर्देशनलगायत महत्वपूर्ण सामग्रीहरु संग्रहित रहेको प्रिन्सिपल ढुङ्गानाले जानकारी दिए ।