दुई महिनादेखि विशेष सुराकीका आधारमा प्रहरीले उनीहरूलाई अनुसन्धान गरिरहेको थियो ।
गिरोहलाई बिहीबार राति पक्राउ गरिएको हो । भारतमा बसेर नक्कली नेपाली पैसा छाप्ने काममा सक्रिय गिरोहलाई नेपालकै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
बिहीबार प्रहरीले कञ्चनपुरको बेलौरी ६ दुम्लीमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
दुम्ली दशगजा नजिकैको नेपाली बस्ती हो। बिहीबार राति ८ बजेतिर क्षेत्रीय अनुुसन्धान ब्युरोका असई केशव जोशीको कमान्डमा खटिएको विशेष टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।
उनले भारतमा गएर छापा मार्न नसकिने भएको हुँदा पैसा छाप्ने काममा संलग्न गिरोहका दुई जना नेपाल आएका बेला समात्न सफल भएको बताए । उनीहरू दुवैलाई नक्कली पैसा छाप्न प्रयोग गरिने कागज र केमिकल तयार गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
नक्कली नोट छापेर गाउँका सर्वसाधारणलाई ठग्ने कार्यमा गिरोह सक्रिय रहेको पनि प्रहरीले बताएको छ ।
प्रहरीले भारतको उत्तरप्रदेश राज्यको पिलिभित जिल्लाको सारदपुरी ग्रामपञ्चायत बजारघाट १ बस्ने वर्ष २२ को बलवीर सिंह र सोही ठाउँ बस्ने वर्ष १९ का कृष्ण सिंहलाई पक्राउ गरेको हो । उनीहरूले पिलिभितमा बसेर नेपालीसहित भारतीय नोट पनि छाप्ने काम गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ । नक्कली पैसा छाप्ने काममा नेपालीको संलग्नता भएकै कारण पक्राउ परेका भारतीय नागरिक मेसिन र सामग्रीसहित नेपाल आएको भन्दै प्रहरीले त्यस कार्यमा संलग्न नेपाली नागरिकबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।