
काठमाण्डाैं । नेपाल आयल निगमले इन्धन ढुवानीका क्रममा हुने चोरी नियन्त्रण गर्नका लागि लकिङ्ग प्रणाली लागु गर्ने भएको छ ।
पेट्रोलियम व्यवसायीले सिंकेज लस, वर्किङ लस र चुहावटका कारण आफुहरुले घाटा व्यहोर्नुपरेको गुनासो गरिरहेका बेला निगमले इन्धन ढुवानीका टंयाङ्करमा लकिङ्ग प्रणाली लागु गर्ने तयारी गरेको हो ।
साथै निगमले डिजल र खाना पकाउने ग्यासमा देखिएको घाटा कम गर्न निकट भविश्यमा सबै पदार्थमा प्रत्येक महिना मुल्य समायोजन गर्ने तयारी पनि गरेको छ ।
निगमको ४८ औ बार्षिक उत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा प्रवक्ता विरेन्द्र गोहितले ढुवानी गरी गन्तव्य सम्म पुर्याउने क्रममा इन्धन नपुग्ने, ढुवानीका क्रममा बाटोमा चोरी हुने लगायत समस्या समाधानका लागि लकिङ्ग प्रणाली लागु गर्न लागेको जानकारी दिनुभयो । प्रवक्ता गोहितले आगामी माघ महिनाबाट झापाको चारआलीबाट ढुवानीका टंयाङ्करमा लकिङ्ग प्रणाली सुरु गरिने बताउनुभयो ।
सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिदै आएको छ ।