
काठमाण्डाैं । सिन्धुपाल्चोकमा भुकम्पका कारण जोखिममा रहेको बस्ती सार्न शुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा सिन्धुपाल्चोकमा १८ जना लाभग्राहीलाई सुरक्षित स्थानमा घडेरी खरिदका लागि दुई लाख रुपैयाँ अनुदान रकम दिईएको छ ।
जोखिमयुक्त वस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरी परिवारलाई बाह्रबिसे नगरपालिका वडा नम्वर ३ मा स्थानान्तरणका लागि जग्गा व्यवस्थापन गरिएको प्राधिकरणका कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माले बताउनुभयो ।
सरकारले दिएको प्रतिपरिवार दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरि कम्तीमा साढे दुई आनादेखि ८ आनासम्म घडेरी खरिद गरेको प्राधिकरणले जनाएको छ ।
जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रति घरपरिवार दुई लाख रुपैयाँ सरकारले अनुदान दिदै आएको छ । ती लाभग्राहीले निजी आवास पुनर्निर्माणमा थप ३ लाख रुपैयाँ समेत पाउने व्यवस्था छ ।
जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भएका उनीहरुलाई १० बर्षसम्म खरिद गरेको घडेरी बेचबिखन गर्न नपाईने र तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनर्निर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिरणका सचिव मधुसुदन अधिकारीले बताउनुभयो ।