भद्रपुर । झापाको चन्द्रगढीस्थित धनुषमोड चोक । अनि चाेककाे एक छेउमा रहेको चटपटेको सानो घुम्ती पसल ।
साँझ परेपछि मान्छेको लाइन । अलिक ढिलो हुने बितिक्कै ग्राहक भन्न थाल्थे “नरेन दाइ, खोई हाम्रो पालो आउँदैन । यहाँ मुखै रसाइसक्यो । छिटो बनाइदिनुन चटपटे ।” अनि मुसुक्क हाँस्दै जवाफ आउँथ्यो, “एकछिन न पालो आउँदैछ ।”
तर तिनै मिजासिला चटपटे नरेन दाइ अर्थात नरेन राजवंशीले सँधैका लागि छोडेर गए । अब त्यो मिठो मुस्कान अनि उनले बनाएकाे मिठो चटपटे कसैले खान पाउने छैनन् । उनलाई पित्त थैलीको क्यान्सर रोगले लग्यो ।
उनकाे क्यान्सर रोगका कारण बुधबार विहान निधन भएको हो । केही समय अघि पित्त थैलीको शल्यक्रिया गराएका उनको त्यही ठाउँमा क्यान्सर भएको चिकित्सकले बताएका छन् ।
नरेनको मृत्युको खबरसंगै यतिबेला चन्द्रगढी शोकमग्न बनेको छ । पेशाले चटपटे व्यवसायी भएपनि नरेन बालक, युवा, बृद्ध सबैको मनमा बसेका थिए ।
यतिबेला चन्द्रगढी भद्रपुर आसपास घर भएका देश विदेशमा छरिएर बसेका मानिसहरुले उनको मृत्युमा सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् । नरेनको बुधबारै स्थानीय देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।