काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ ।
सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।
कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात हजार ५२८ पुगेको जानकारी दिनुभयो । यो संख्या सन् २०१६ को तुलनामा एक हजार ३ सय २३ जनाले बढेको हो । यस वर्षमा पूर्वीनाका हुँदै पैदल मार्ग भएर सबैभन्दा बढी युएसए र भुटानी पर्यटक नेपाल घुम्न आएका छन् तर हरेक वर्ष बंगलादेशी पर्यटकको संख्या वृद्धि भए पनि सन् २०१७ मा पूर्वी नाका हुँदै नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा भने कमी आएको कार्यालयको तथ्यांकले देखाएको छ ।
सन् २०१६ मा यो नाका भएर दुई हजार ३ सय ४८ बंगलादेशी पर्यटक नेपाल आएका ए । सन् २०१७ मा दुई हजार २५ जना मात्र आएका छन् । यो संख्या सन् २०१६ को तुलनामा ३२३ जनाले कमी हो । विसं २००८ मा दिल्लीको ताज होटलमा आक्रमण भएलगत्तै भारतले बंगलादेशीलाई दोहोरो प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउन छाडेका कारण त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको कार्यालय प्रमुख फुँयालको भनाइ छ । यो वर्ष एक हजार ६ सय १६ भुटानका र ८ सय ८२ युएसएका पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका छन् ।
पूर्वी नाकाबाट भित्रिने मात्र होइन बाहिरिने पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । सन् २०१६ मा पाँच हजार ७१९ पर्यटक यो नाका भएर विदेशिएका र सन् २०१७ मा छ हजार ७ सय ४८ पर्यटक बाहिरिएका छन् ।