काठमाडौँ । सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ ।
बाँकी आयोजनाको कार्यप्रगति कछुवाको गतिमा रहेको पाइएको छ । सरकारी निकायबीच समन्वयको अभाव, निर्माण सामग्रीको अभाव तथा स्थानीय स्तरमा रहेका सानातिना समस्याका कारण पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति समग्रमा राम्रो हुन नसकेको हो ।
ती आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी कार्यप्रगति भएका चार वटा मात्रै आयोजना रहेका छन् । भेरी बबई डाइभर्सन आयोजनाको मात्रै प्रगति १२१ प्रतिशत भएको छ । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रगति ९० प्रतिशत भएको छ ।
राष्ट्रिय योजना आयोगका अनुसार ५० देखि ७९ प्रतिशतसम्म प्रगति भएका आयोजना पाँच वटा रहेका छन् भने ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको संख्या १० वटा रहेको छ । कुनै पनि प्रगति नभएका आयोजनाको संख्या दुई वटा रहेको छ ।
गौरवका आयोजनामा सिक्टा सिँचाइ, बबई सिँचाइ, रानीजमरा–कुलरिया सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन, बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनन काठमाडौँ–तराई द्रुतमार्ग, उत्तर–दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी, उत्तर–दक्षिण लोकमार्ग कोशी, मध्यपहाडी लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, हुलाकी लोकमार्ग, पशुपति क्षेत्र विकास कोष, दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बारा, पोखरा क्षेत्रीय विमानस्थल, भैरहवा क्षेत्रीय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपति चुरे संरक्षण आयोजना रहेका छन् ।