एजेज्सी । इंग्ल्याण्डका प्रशिक्षक रोय हडसनले राजीनामा दिएका छन् । युरोकपको अन्तिम १६ मा आइसल्याण्डसँगको अप्रत्यासित हारपछि हडसनले इंग्ल्याण्डको प्रशिक्षक पदबाट राजिनामा दिएका हुन् ।
६८ वर्षका हडसन सन् २०१२ को मेमा इंग्ल्याण्डको प्रशिक्षकमा नियुक्त भएका थिए । चार वर्षको अवधिमा हडसनको प्रशिक्षणमा इंग्ल्याण्डले मुख्य प्रतियोगिताका अन्तिम चरणका ११ खेलमा तीनमा मात्रै जित हात पार्यो । मात्रै तीन लाख ३० हजार जनसंख्या भएको तथा विश्व बरियतामा ३४ औं स्थानमा रहेको आइसल्याण्डसँगको हार उनको प्रशिक्षणमा भएको सबैभन्दा अप्रत्यासित हार हो ।
युरोकपको अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा नवप्रवेशी आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराएको हो । खेलपछि राजीनामाको घोषणा गर्दै हडसनले भने ‘म माफि चाहन्छु कि मैले यसरी जिम्मेवारी अन्त्य गर्नु पर्यो, तर फुटबलमा यस्तै भइरहन्छ । 
तर आशा गरौं हामी इंग्ल्याण्डलाई चाँडैनै मुख्य प्रतियोगिताको फाइनलमा देख्न पाउने छौं ।’ अब अरु कसैको पालो भएको उनले बताए । हडसनले आफ्नो प्रशिक्षणमा भएका ५६ खेल मध्ये ३३ मा टिमलाई जिताएका छन् । उनको सम्झौता युरोकप सकिए लगतै सकिने थियो र त्यो थप गर्ने तयारी भएको थियो । तर आइसल्याण्डसँगको हारले उनलाई राजीनामा दिन बाध्य बनायो ।