काठमाण्डाैं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा नेपालबाट एक हजार तीन सय ३७ सैनिक थपिने भएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
इन्जिनियर्स, सैनिक प्रहरीलगायतको काममा तीन सय २७ सैनिक तीन महिनाभित्र उड्ने तयारीमा छन्। थप एक बटालियन र गुल्मस्तरका गरी एक हजार सैनिकलाई राष्ट्रसंघको आग्रहमा तयारी अवस्थामा राखिएको छ। मिसन तय हुनासाथ उनीहरू प्रस्थान गर्नेछन्।
राष्ट्रसंघको आग्रहअनुसार लिबियामा सुरक्षागार्डका रूपमा दुई सय ३३ सैनिक तीन महिनाभित्र जाँदै छन्। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाल ५६ सैनिक प्रहरी कार्यरत छन्। त्यहाँ ६४ सैनिक पठाउने तयारी छ।
सिरियाको गोलान हाइटमा थप ३० इन्जिनियर सैनिक जाँदै छन्। त्यहाँ सेनाको कम्पनीस्तरको एक युनिट कार्यरत छ। संयुक्त राष्ट्रसंघले एक बटालियनस्तरको अर्थात् आठ सय ५० सैनिक रहने फौजलाई तयारी हालतमा राख्न भनेको छ। यसलाई सेनाले ‘र्यापिड डिप्लोइड बटालियन’ भनेको छ।
यसबाहेक एक सय ५० जनाको विशेष फोर्सका सैनिकलाई पनि तयारी हालतमा राख्न भनिएको छ। ‘उनीहरू जानका लागि तयारी हालतमा छन्,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने,‘राष्ट्रसंघले पठाउनु भनेपछि जाने अवस्थामा नेपाली सैनिक छन्।’
Facebook Comments Box