अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

सोमबार बिहान अमेरिकाको न्युजर्सीमा भएको कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेका मेस्सीले अब राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् । फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि मेस्सीले भने ‘मेरा लागि राष्ट्रिय टिमको काम सकियो । मैले गर्न सक्ने जति गरेँ, च्याम्पियन हुन नसक्नु निकै पीडादायक हुन्छ ।’

२९ वर्षका मेस्सीले अर्जेन्टिनाको टिमबाट एक सय १२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीले सन् २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । मेस्सीले विश्वकपमा एक पटक तथा कोपा अमेरिकामा दुई पटक टिमलाई फाइनलसम्म पुर्याए । तर उपाधि भने जित्न सकेनन् । सोमबार बिहान भएको खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेनन्, चिलीले ४–२ ले विजयी भयो । मेस्सीले राष्ट्रिय टिमबाट सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदह जित्नु बाहेक अरु महत्वपूर्ण उपाधि जित्न सकेका छैनन् ।

सन् २००५ मा हंगेरीसँगको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका मेस्सीले एक सय १२ खेलमा ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

मेस्सीले सन् २००७, २०१५ र २०१६ मा कोपा अमेरिकाको फाइनलमा खेले भने सन् २०१४ को ब्राजिल विश्वकपमा पनि मेस्सीको नेतृत्वमा अर्जेन्टिना फाइनलमा पुगेको थियो ।


