काठमाडौं । भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान अनिल कुम्बले नियुक्त भएका छन् ।
बिहीबार भारतीय क्रिकेट बोर्ड बिसिसिआईले कुम्बलेलाई एक वर्षका लागि नियुक्त गरेको हो । उनले वेष्ट इन्डिजसँग हुने टेस्ट सिरिजबाट भारतीय टिम सम्हाल्ने छन् ।
मुख्य प्रशिक्षक कुम्बले नियुक्त भएपनि बलिङ, ब्याटिङ र फिल्डिङ प्रशिक्षक नियुक्त गर्न भने केही दिन लाग्ने बिसिसिआईले जनाएको छ ।
सचिन तेन्दुलकर, सौरभ गांगुली, भिभिएस लक्ष्मण र संजय जगदा सदस्य रहेको सल्लाहकार समितिले कुम्बलेलाई प्रशिक्षकका लागि छनोट गरेको हो ।
प्रशिक्षकका लागि मागेको आवेदनमा ५७ जनाको आवेदन परेको थियो । ५७ जनामध्ये २१ जना छनोट गरि अन्तवार्ता लिएर कुम्बलेलाई चुनिएको हो ।
सन् २००० मा कपिल देवले राजिनामा दिएपछि भारतीय नै प्रशिक्षक भएको यो पहिलो पटक हो । कुम्बलेसँग इन्डिएन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सको प्रशिक्षक भएको बाहेक अन्य अनुभव छैन ।

१८ वर्ष भारतीय टिमबाट क्रिकेट खेलेका स्पीनर कुम्बलेले टेस्ट क्रिकेटमा ६ सय १९ विकेट लिएका छन् ।
सन् २००७ मा टेस्ट टिमको कप्तान भएपछि उनले सम्हालेका १४ खेलमा भारतले तीन वटामा जितको थियो भने पाँच वटामा हार वेहोरेको थियो । ६ खेल बराबरी भएका थिए ।