एजेन्सी, असार ७ ।
रुस समूहचरणबाटै घर फर्कियो
रुसलाई हराउँदै वेल्स फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
गएराति भएको खेलमा रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै वेल्स समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलको ११ औं मिनेटमा आरोन रास्मीले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको २० औँ मिनेटमा टेलरले गोल गर्दै वेल्सको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० को अग्रता लिएको वेल्सका लागि खेलको ६७ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै ३–० को जित दिलाए।
जितसँगै समूह चरणमा तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको वेल्स ६ अंकका साथ समूह ‘बी’ को विजेता बन्यो।
वेल्सले समूह चरणको पहिलो खेलमा स्लोभाकियालाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डसँग २–१ को हार ब्यहोरेको थियो।
अन्तिम खेलमा वेल्ससँग पराजित भएपछि रुस भने समूह चरणबाटै घर फर्किन बाध्य भएको छ। समूह चरणका कुनै पनि खेलमा जित निकाल्न नसकेको रुस समूहको पुछारमा छ। रुसले तीन खेलमा एकमा बराबरी र दुईमा हार ब्यहोरेको थियो।
