काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले शैक्षिक सत्र २०७३ ०७४ को शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै उच्च माध्यमिक शिक्षा परिषदले आउदो आ.ब.को शैक्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
उसले आफ्नो सम्बन्धमा सञ्चालित कलेजहरुलाई उक्त शैक्षिक कार्यतालिका लागु गराउन आग्रह समेत गरेको छ ।
परिषदको कार्यतालिकाअनुसार साउन १ गतेसम्म १२ कक्षाको भर्ना लिइसक्नुपर्नेछ भने साउन १५ भित्र कक्षा ११ को भर्ना कार्यक्रम तोकिएको छ । कक्षा ११ को कक्षा सञ्चालन साउन १६ गतेदेखि हुनेछ भने कक्षा १२ को साउन २ गतेदेखि कक्षा सञ्चालन हुनेछ ।
यस्तै २०७३ भदौं मसान्तभित्र कक्षा ११ को नयाँ भर्ना हुने विद्यार्थीको रजिष्टेशन भनिसक्नुपर्नेछ । विलम्ब शुल्कसहित रजिष्टेशन फाराम भरिसक्नुपर्ने अन्तिम मिति असोज १५ सम्मलाई तोकिएको छ ।
यस्तै २०७३ माघ १ गतेदेखि मससान्तभित्र परीक्षा आवेदन भरिसक्नुपर्नेछ । विलम्ब शुल्कसहित परीक्षा फाराम भर्ने मिति भने फागुन १ देखि १५ सम्मलाई तोकिएको छ ।
परीक्षा सञ्चालन भने १२ कक्षाको २०७४ बैशाख दोस्रो हप्तादेखि तोकिएको छ भने कक्षा ११ को बैशाख महिनाको अन्तिम हप्ता सञ्चालन गर्ने उल्लेख छ ।
परिषदले २०७४ साउन मसान्तसभित्र १२ कक्षाको नतिजा सार्वजनिक गर्ने र २०७४ कात्तिक मसान्तभित्र कक्षा ११ को नतिजा सार्वजनिक गर्ने उल्लेख छ ।