काठमाडौँ । एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार नौ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।
एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक (जीपीए) न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन् ।
एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी थिए ।
परीक्षा दिएकामध्ये ८२.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन् ।
एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो हो ।
अयोग्यमा परेका १७.८८ प्रतिशत विद्यार्थीहरूले पनि प्राविधिक शिक्षाअन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन् ।
‘१.६ जीपीए नल्याउनेलाई पनि प्राविधिकतर्फ व्यावसायिक शिक्षा लिने व्यवस्था गरेका छौं,’ बिहीबार एसएलसीको नतिजा सार्वजनिक गर्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितले भने, ‘सबैले मास्टर र पीएचडी गर्दैनन् ।
रोजगारीमूलक सीप सिक्न १.६ भन्दा कम जीपीए ल्याउनेलाई कुनै बाधा हुँदैन ।’ उच्च माध्यमिक शिक्षा परिषद्को बुधबारको बैठकले कक्षा ११ मा विज्ञान समूहमा भर्ना हुन २ र अन्यमा कम्तीमा १.६ ल्याउनुपर्ने निर्णय गरेको थियो ।