काठमाडौँ । १९९० देखि अंकनमा आधारित परीक्षाफल प्रकाशन हुँदै आएकोमा यस वर्षदेखि सम्पूर्ण परीक्षार्थीको नतिजा अक्षरांकन पद्धतिमा प्रकाशन भएको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।
विद्यार्थीलाई उत्तीर्ण वा अनुत्तीर्ण नभनी परीक्षार्थीको ज्ञान, सीप र अभिवृद्धिको स्तरलाई प्रत्येक विषयमा नौवटा ग्रेडद्वारा व्याख्या गरिएको छ ।
८३ वर्षको एसएलसी परीक्षाको इतिहासमा सबैभन्दा धेरै परीक्षार्थी सहभागी भएको र ६९ दिनमा परीक्षाफल प्रकाशित भयो भने यसै वर्षदेखि कक्षा १० मा लिइने एसएलसी परीक्षाको अन्त्य भएको छ ।
पढ्न कसैलाई रोकिन्न : सचिव पण्डित परीक्षा बोर्डका अध्यक्षसमेत रहेका शिक्षासचिव विश्वप्रकाश पण्डितले कुनै पनि ग्रेडका विद्यार्थी पढ्नबाट वञ्चित नहुने बताए ।
कम ग्रेड ल्याएका विद्यार्थीले सिटिइभिटीको टिएसएलसी पढेर सीप प्राप्त गर्न सक्ने उनको भनाइ छ । उनले भने, ‘सबैले मास्टर्स र पिएचडी गर्न पर्ने चलन कहीँ पनि छैन, जब जुनसुकै ठाउँमा छ, देशको आवश्यकताअनुसार जनशक्ति तयार पार्नुपर्छ ।’
शिक्षा मन्त्रालयले जिपिए १.६ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना नपाउने निर्णय गरेको छ ।
पनिकाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार जिपिए १.२ देखि १.६ ल्याउने नियमिततर्फ ५६ हजार सात सय ६३ र एक्ज्याम्टेडतर्फ ३७ हजार नौ सय ३९ विद्यार्थी छन् ।
जिपिए ०.८ देखि १.२ सम्म ल्याउने नियमिततर्फ आठ हजार र एक्ज्याम्टेडतर्फ दुई हजार चार सय ५२ छन् । जिपिए ०.० देखि ०.८ सम्म ल्याउने नियमिततर्फ ११ र एक्ज्याम्टेडतर्फ दुईजना छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले यो समूहमा परेका १.६ भन्दा कम जिपिए ल्याएकाले साधारण विषयमा भर्ना नपाउने बताए । ‘जिपिए १.६ मात्र भर्नाको आधार होइन, विषयअनुसार अरू क्राइटेरिया पनि पूरा गर्नुपर्छ ।’