काठमाडौं, २९ जेठ । आफ्नो स्टार खेलाडी लियोनल मेस्सी चम्किएपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
शनिबार बिहान सिकागोमा भएको खेलमा पानामालाई ५–० ले हराउँदै अर्जेन्टिना एक खेल अघि नै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
अर्जेन्टिनाको उत्कृष्ट प्रदर्शनको क्रममा मेस्सीले ह्याट्रिक गरे । मेस्सीले ६८, ७८ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यसअघि खेलको सातौँ मिनेटमा नै ओटिमेनडीले अर्जेन्टिनाको लागि पहिलो गोल गरे । यस्तै ९० औँ मिनेटमा अग्युरोले गोल गरे ।
लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । समूह डीमा रहेको अर्जेन्टिनाले पहिलो खेलमा चिलीलाई २–१ ले हराएको थियो । चिली विरुद्वको खेलमा भने मेस्सी चोटको कारण मैदान बाहिर थिए ।
पहिलो खेलमा बोलिभियालाई हराएको पानामा र दोस्रो खेलमा बोलिभियालाई हराएको चिली मध्ये एक टिम समूह डी बाट क्वाटरफाइनलमा पुग्ने छ । यी दुईबीच आउँदो बुधबार समूहको अन्तिम प्रतिस्पर्धा हुँदैछ । लगातार दुई खेल हारेको बोलिभिया भने समूह चरणबाटै बाहिरिएको छ ।
यसैबीच शनिबार नै भएको अर्को खेलमा बोलिभीयालाई हराउँदै चिलि बिजयी भएको छ । बोलिभियालाई २–१ ले हराएसँगै चिलिको अन्तिम ८ मा पुग्ने सम्भावना कायमै छ ।
