दार्जिलिङ । छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि आन्दोलनरत् दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) कार्यकर्ताहरूमाथि प्रशासनले लाठीचार्ज गरेपछि दार्जिलिङ पुनः तनावपूर्ण बनेको छ । लाठीचार्जपछि यहाँ फेरि आन्दोलन चर्किने सम्भावना बढेको छ ।
आन्दोलनलाई दमन गर्न कठोर कदम उठाएको प्रशासनले सोमबार राती गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) को रेलिङ कैंजले समष्टिका सभासद्लाई पक्राउ गरी पाँच दिनको प्रहरी हिरासतमा पठाएको छ।
सभासद्को पक्राउले यो क्षेत्र अशान्त बनेको छ । आक्रोशित आन्दोलनकारी मोर्चा समर्थकहरूले पक्राउ गरिएका सभासदलाई प्रहरीले चाँडै मुक्त नगरे बिजनबारीमा आगो सल्किने चेतावनी दिएका छन् ।
आन्दोलनकारीहरूले आज पक्राउको विरोध गर्दै ऱ्याली पनि निकाले । सभासद्बाहेक मंगलबार प्रहरीले थप पाँच जना मोर्चा समर्थकहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तीन जना दार्जिलिङका र दुई खरसाङ क्षेत्रका हुन् ।
उनीहरूलाई प्रहरी हिरासतमा पठाइएको छ । दार्जिलिङसहित उत्तर बंगाल ठप्प दार्जिलिङ पहाडमा गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि आन्दोलन तीव्र पारिरहेकै बेला दार्जिलिङसहित उत्तर बगालका छवटा जिल्लाका चिया श्रमिक सङ्गठनले चिया श्रमिकहरूको न्यूनतम रोजवृद्धिको मागमा आह्वान गरेको आम हडतालको मगलबार व्यापक प्रभाव देखियो ।
बन्दलाई आन्दोलनकारी दल गोजमुमोले समर्थन गरेको थियो । बन्दका कारण यहाँका व्यावसायिक प्रतिष्ठान, शैक्षिक संस्थान, सरकारी र गैरसरकारी कार्यालय सवारी साधनको आवागमन पूर्ण रूपले ठप्प बन्यो ।