विराटनगर । राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनले आह्वान गरेको बन्दका कारण विराटनगरसहित आसपासको जनजीवन प्रभावित भएको छ ।
हडतालका कारण नगरक्षेत्रका बजार पसल खुल्न सकेका छैनन्। नगरक्षेत्रको मेनरोडस्थित बुधहाटचोक सहित विभिन्न चोकहरुमा बन्दकर्ताहरुले प्रदर्शन गरिरहेकाले मंगलबार विहानैदेखि बजारक्षेत्रका पसलहरु खुल्न सकेका छैनन् ।
बन्दको उल्लंघन गरेको भन्दै बन्दकर्ताहरुले केही सवारीसाधनमा समेत तोडफोड गरेका छन् । बन्दकर्ताहरुले हडतालको उल्लंघन गरेको भन्दै विराटनगर–काठमाण्डौ चल्ने बा ३ ख ८३७४ नम्बरको निशान माइक्रो बस तोडफोड गरेका छन् ।
यस्तै बन्दकर्ताहरुले को १ ह १६८३ नम्बरको टेम्पु र को १ ह ४२१८ नम्बरको सिटी रिक्सासहित अन्य केही सिटी रिक्साहरुमा समेत तोडफोड गरेका छन् । बन्दका कारण विराटनगरबाट पूर्व पश्चिम जाने सवारीसाधन चल्न सकेका छैनन्। नगरक्षेत्रमा मोटरसाइकल र सिटी रिक्सा भने प्रशस्तै चलेका छन् ।
बन्दको क्रममा मोटरसाइकल,एम्बुलेन्स सहित अत्यावश्यकीय सवारीसाधनलाई रोक नलगाइएको राष्ट्रिय जनता पार्टीका मोरङ संयोजक मोहम्मद कादिरले जानकारी दिए । विराटनगर बाहिरबाट आएका यात्रु बाहक बसहरु भने स्थानीय बरगाछि चोकसम्म यात्रु लिएर आइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन गिरीले जानकारी दिए ।
बन्दकर्ताहरुले विराटनगरको रानी सहित, कटहरी, नयाँबजार लगायतका क्षेत्रमा समेत प्रदर्शन गरिरहेको जनाइएको छ ।