झापा । प्रवासमा रहेका झापाली युवाले ‘टुगेदर फर सोसल चेञ्ज’ नामको फेसबुक ग्रुपबाट झापाका विभिन्न विद्यालयका विद्यार्थीका लागि छात्रवृति वितरण अभियान सुरु गरेका छन् ।
गरीब, विपन्न, जेहेन्दार, सीमान्तकृत समुदायका बालबालिका तथा अन्य विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको अभियान्ता दिपक दासले जानकारी दिए ।
अभियान अन्तरगत राष्ट्रिय विजय मावि शान्तिनगरका शुष्मा कार्की, सिर्जना राई, बलभद्र जनता मावि धाइजनका विपिन गुरुङ र सोनु भुजेललाई गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
अर्जुनधारा आदर्श माविमा अध्ययन गर्ने बालबालिका ओमप्रकाश प्रसाई र विनु प्रसाईलाई क्यान्सर पीडितका परिवार तर्फको तथा भृकुटी मावि दुर्गापुरका सीमान्तकृत समुदायका विद्यार्थी शोभा टुडु र विनोद मुर्मुलाई पनि टुगेदर फर सोसल चेञ्जले शैक्षिक सामग्री प्रदान गरेको छ ।
यसैगरी वैदेशिक रोजगारमा अभिभावक गुमाएका सुनसरी जिल्ला झुम्काको श्री रामधुनी माविका छात्रा नितु पराजुलीलगायत नौजना विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको अभियान्ता यज्ञराज कडरियाले बताए ।
विद्यार्थीहरुलाई डटपेन, खाताकापी, लुगा, ब्याग, ट्युसन शुल्क जस्ता आवश्यक सामग्री प्रदान गरिएको छ । ग्रुपले यो वर्षभरि नै यस्ता विद्यार्थी तथा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको जनाएको छ ।
ओमन, अष्ट्रेलियालगायतमा श्रम गर्ने झापाली युवाले बैंक मार्फत उक्त रकम जम्मा गर्ने गरेका छन् । सो अभियानलाई अभियान्ता दिपक दास र यज्ञराज कडरियाले समन्वय गरिरहेका छन् ।