भैरहवा । आमाको पिटाइ खाने डरले चार वर्षको उमेरमा घर छाडेर हिँडेका एक व्यक्ति १८ वर्षपछि भैरहवाका गल्लीहरुमा आफ्ना अभिभावक खोज्दै भौंतारिरहेका छन् ।
चार वर्षको उमेरमा आमाले पिट्छु भन्दै झाडु लिएर लखेटेपछि डरले घरबाट भागेको बताउने राजु कन्हैया अहिले २२ वर्ष पुगेका छन् र उनी आफूलाई जन्म दिने आमाबुवाको खोजीमा छन् ।
आफूले १८ वर्ष अघि छाडेको घर जान खोज्दा घर नभेटाएर भैरहवाको सडकमा भौंतारिरहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।
हरीले पनि अभिभावकको खोजतलास गर्दा फेला नपरेपछि कन्हैयालाई माईती नेपालको जिम्मा लगाएको थियो । माइती नेपालले पालनपोषणको लागि काठमाडौंको सिविन नामक संस्थाको जिम्मा लगायो ।
सानो उमेरदेखि नै सिविनको संरक्षणमा हुर्किएका उनी अब आफ्ना आमाबुवाको काखको खोजीमा छन् । आफू सानै छँदाको तस्वीर लिएर अभिभावक खोज्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला सेलमा आइपुगेका कन्हैयाले भने, ‘चार वर्षको उमेर हुँदा घरबाट निस्किएको थिएँ । पछि घर जान खोज्दा घर भेटाइन । अहिले बाबाआमाको माया लाग्छ तर भेटिनु भएको छैन ।’
बुवा बिहान काममा निस्किएर साँझ घर फर्किने गरेको र आमाले दिनभर घर स्याहार्ने गरेको याद छ उनलाई । त्यसबाहेक एक तले माटोको कच्ची घर, घर छेउँमा फर्निचर उद्योग र नजिकै खोला पनि रहेको याद छ उनलाई । तर अहिले त्यो घर कता पर्छ उनलाई पत्तो छैन ।
कन्हैयाले ललितपुरको गोदावरीस्थित चन्तल मौदी एकेडेमी स्कुलको होस्टेलमा बस्दै आएको बताए । सोही स्कुलबाट १२ कक्षाको परीक्षा दिएर बसेको र ट्यूसन पढाएर आफ्नो दैनिक खर्च चलाउँदै आएको उनी बताउँछन् । सानोमा कहिलेकाहीँ हप्काए पनि आफूलाई आमाबुवाले असाध्यै माया गरेको सम्झनामात्र छ उनलाई ।
‘दुवै जनाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । अहिले कहाँ हुनुहुन्छ थाहा छैन,’ विगत सम्भिmँदै कन्हैयाले भने, ‘बाबा(आमालाई जहाँ भए पनि आफूलाई लिन आउनुस् ।’