काठमाडौँ । आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत (निजी) विद्यालयमा पुरुषको तुलनामा करिब १५ प्रतिशत महिला शिक्षक बढी कार्यरत छन् । सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा महिला शिक्षकको सङ्ख्यामा वृद्धि हुनसकेको छैन । कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ ।
अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण (२०७३÷७४) का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत मात्र महिला शिक्षक रहेकोमा संस्थागत विद्यालयमा भने ४५ दशमलव १ प्रतिशत महिला शिक्षक छन् । हाल मुलुकमा ३५ हजार २२२ विद्यालय छन् ।
सो सर्वेक्षणका अनुसार सामुदायिकतर्फ निजी स्रोतसमेत गरी महिला शिक्षकको सङ्ख्या एक लाख १३ हजार ४११ र पुरुष शिक्षक एक लाख ९९ हजार २७६ गरी तीन लाख १२ हजार ६८७ शिक्षक छन् । निजी विद्यालयतर्फ महिला शिक्षकको सङ्ख्या ३८ हजार ९३६ र पुरुष शिक्षक ४७ हजार ३२६ गरी ८६ हजार २६२ शिक्षक कार्यरत छन् ।