बिर्तामोड । चोरिएका सामानसहित प्रहरीले झापामा ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले झापाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ का १८ वर्षीय सुरज राई, सोही स्थानका १७ वर्षीय धिरज राई, बिर्तामोड नगरपालिका–५ बस्ने १७ वर्षीय आशिष राई र सोही स्थानका १७ वर्षीय आकाश ढुङ्गेल छन् ।
जेठ ९ गते अर्जुनधारा नगरपालिका–११ का धनञ्जय साहले इलाका प्रहरी कार्यालय बिर्तामोडमा नगद ३ लाख १४ हजार ७ सय २० रुपैयाँ, ११ तोला सुन र ३० तोला चाँदीका विभिन्न गरगहना चोरी भएको निवेदन दिएका थिए । त्यसलगत्तै प्रहरी अनुसन्धान तथा खोजतलासमा जुटेको थियो ।
पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले चोरी भएको नगद तथा सम्पूर्ण सामान बरामद गरिसकेको छ ।
‘निवेदनमा उल्लेखित चोरीका सामानहरु उनीहरुका साथबाट फेला पारेका छौँ,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी केशवकुमार थेबेले भने, ‘उनीहरुलाई चोरी मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।’