भद्रपुर। सरकारले स्थानीय तहको संख्या वृद्धि गरेसँगै झापाको भद्रपुर नगरपालिकामा एउटा नयाँ वडा थपिएको छ । एउटा वडा थपिएसँगै भद्रपुरमा ११ वडा कायम भएको छ ।
यसअघि भद्रपुरमा पृथ्वीनगर गाविस गाभिएसगै १० वटा वडा संख्या सरकारले कायम गरेको थियो । तर, सरकारले अहिले फेरी एउटा वडा थपेर वडा नम्बर ५ र ६ लाई फेरबदल गरेको छ ।
वडा नम्बर ५ बाट पुरानो साविक वडा १२ नम्बर झिकेर ६ नम्बर वडामा समावेश गरेको छ । भने, ६ नम्बर वडाबाट पुरानो वडा ७, ९ र १३ झिकेर ११ नम्बर वडा बनाएको छ । ११ नम्बर वडामा मतदाता संख्या २ हजार ८ सय ८४ रहेको बुझिएको छ ।
चुनावको नजिकै आएर ५ र ६ नम्बर वडा फेरबदल भएपछि दलहरु बिच वडाध्यक्षको उम्मेदवार चुन्न फेरी सकस हुने भएको छ । दलहरुले ५ र ६ नम्बरमा लगभग वडाध्यक्ष चुनिसकेको अवस्था थियो ।
यता, दलिय स्रोतका अनुसार मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महामन्त्री भरतेन्दुकुमार मल्लिकले आफ्नो ६ नम्बर वडालाई टुक्राएर नयाँ वडा कामय गरेको बताए । मल्लिक भद्रपुर नगरको पूर्व मेयर हुन् ।
उनले स्थानीय चुनावमा आफ्नो वडामा पकड जमाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारलाई सिफारिस गरेपछि ५ र ६ नम्बर वडा टुक्राइएको हुन सक्ने स्रोतको दावी छ । अनलाइनबाट