इलाम । नगदेबाली र तरकारी उत्पादन हुँदै आएको इलामको चमैता गाविसका किसानले कृषि बाली लगाउने बेला आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको छ ।
सिचाई डिभिजन कार्यालय इलामले डेढ करोड बढीमा ७ किलोमिटर लामो मझौला नहर बनाएपछि किसान उत्साहित भएका हुन् ।
घर छेउको नहरमा पानी चलेपछि चमैता ५ का गंगा भट्टराईले मासिएको अलैची बगान गोडमेल थाले । सिचाई नभएर चार वर्षदेखि सुकेको अलैँची बगान छेउमै सरकारले पक्की नहर बनाएपछि उनी उत्साहित भई अलैँची सँगै व्यवसायीक तरकारी खेतीमा जुटेका छन् ।
सिचाई नभएर चार वर्षदेखि खेतीबालीको आम्दानी माया मारेका चमैता ६ का अर्जुन बस्नेतले नहर संचालन पछि उन्नत तरकारी खेतीको योजना बनाए । इलामको चमैता गाविसको खेती योग्य जमिन सिंचित गर्न सरकारले नहर निर्माण गरेपछि किसानलाई मौसमी र बेमौसमी कृषि उत्पादन गर्न सजिलो भएको हो ।
सिचाई डिभिजन कार्यालय इलामले एक सय हेक्टर बढी खेतीयोग्य जग्गा लक्षित गरि नहर निर्माण गरेपछि गंगा भट्टराई र अर्जुन बस्नेतसँगै कृषि पेशमा आवद्ध चमैता गाविसका किसान उत्साहित भएका छन् ।
अलैची र व्यवसायीक तरकारी खेती हुने चमैता गाविसमा डेढ करोड बढी खर्चेर निर्माण गरेको ७ किलोमिटर लामो नहर किसानका लागि बरदान साबित भएको हो ।
२०४५ सालमा जनश्रमदानबाट निर्माण भएको कुलोमा चार वर्षदेखि पानी बन्द भएपछि सिचाई डिभिजन कार्यालयले १५ महिना अघि नहर निर्माण शुरु गरेको थियो ।
सिचाई सुविधा पुगेपछि कृषि विकास कार्यालयबाट सघन कृषि कार्यक्रम शुरु भएकाले देउमाई मुदाले कोच्चि सिचाई आयोजनाले किसानको आर्थिक उपार्जनमा वृद्धि हुने सिचाई डिभिजन इलामका प्रमुख बद्रि कार्कीले बताए ।
प्रति सेकेण्ड तीन सय लिटर पानी २४ सै घण्टा बग्ने नहर निर्माण पछि चमैताका किसानले बाली लगाउने बेला आकासे पानी पर्खनुपर्ने बाध्यता हटेको छ ।