भद्रपुर । झापामा पहिलो पटक सौर्य उर्जा प्रविधि प्रयोग गरि किसानको खेतमा पानी जान थालेपछि पथरियाका किसानहरु दंग परेका छन् ।
बर्षातको पानी तथा बोरिङमा निर्भर पथरिया डाँडागाउँका किसानको खेतमा सिंचाई विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य उर्जा प्रविधि प्रयोग गरेर बोरिङबाट निरन्तर पानी आउन थालेपछि किसानहरु दंग मात्र होइन हर्षित भएका छन् ।
लगभग रु १५ लाख खर्च गरेर डिभिजन कार्यालयले धानका लागि सुपर जोन मानिएको क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने योजना अनुरुप सो कार्य गरिएको डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले वताए ।
सौर्य उर्जा प्रयोग गरि बोरिङबाट पानी निकाल्न १४० वाटको २४ वटा प्यानेल जडान र एक हर्ष पावरको पम्प जडान गरि बनाएको सौर्य उर्जा सिंचाईको सिंचाई विभागका उपनिर्देशक बासुदेव लोहनीले आज उद्घाटन गरे ।
दिउँसो भरि पानी आउने सो प्रविधिबाट बोरिङबाट प्रतिसेकेण्ड तीन देखि पाँच लिटर अर्थात एक दिनमा ५० घनमिटर पानी आउने र यसबाट लगभग २५ विगाहा खेत सजिलै सिचाई हुने प्राविधिक रामबहादुर खत्रीले वताए ।
सो अवसरमा उपनिर्देशक लोहनीले धानका लागि सुपर जोन मानिएको क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्नु राज्यको जिम्मेवारी अनुरुप सो कार्य भएको र आउने दिनमा यस्ता प्रविधिहरु थपिदै जाने विश्वास दिलाए ।
आफ्ना खेतमा पानी आउन थालेपछि स्थानीय किसान टेकनाथ पौडेल, तेजप्रसाद पौडेल, तेजमान बस्नते र लक्ष्मीप्रसाद पौडेलले अहिले धानको बिउ छर्ने बेलामा सौर्य उर्जाबाट हामे खेतमा पानी आउने भएपछि हामीलाई निकै खुशी बनाउको प्रतिक्रिया दिए ।
सोही अवसर सुपर जोन संचालक समितिका सचिव भागिरथा प्याकुरेलले विकासमा पछि परेका हाम्रो ठाउँमा राज्यको ध्यान जान थालेपछि हाम्रो मुहारमा हाँसो आउने विश्वास व्यक्त गरे ।