चितवन । चितवनको भरतपुरमा गएराति विहान गोली चलेको छ । भरतपुर २५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ ।
एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उहाँकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
साथै लुटेरा समुहले छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि कुटपिट गरेका छन् । महतोकी श्रीमती २७ वर्षीया कुन्ती महतोसमेत बेहोस भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कुटपिट गरी घरमा रहेको एक लाख ५० हजार, दुई थान सिक्री, एक थान आँैठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटेराले लगेको थापाले बताउनुभयो ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गङ्गारामको टाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीको टाउकामा रगत जमेको प्रहरीले जनाएको छ ।
अन्यको अवस्था खतरामुक्त रहेको छ । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीको भनाइ छ ।