झापा । असिना पानीसँगै सोमबार आएको हावाहुरीले मध्यदक्षिण झापाका घरमा क्षति र्पुयाएको छ । हावाहुरीका कारण ४ जना गम्भीर घाइते छन् भने १६ जना सामान्य घाइते छन् ।
नेपाल रेडक्रस सोसाइटी पाँचगाछी उपशाखाका अनुसार घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । शिवसताक्षी नगरपालिकाको दक्षिणी गाउँ, शिवगञ्ज, कोरोबारी, कुञ्जिबारी, महाभारा, खजुरगाछी, बैगुनधुरा, कुमरखोद टाघनडुब्बा गौरादह र गौरीगञ्जका २ सयभन्दा बढी घरहरु हावाहुरीले भत्काएको छ ।
नेरेसो पाँचगाछि उपशाखाका अध्यक्ष प्रकाश खरेलका अनुसार घाइतेमध्ये शिवसताक्षी ४ का ३ जना र गौरीगञ्ज गाउँपालिकाका १ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारको लागि दमकको लाइफलाइन अस्पताल लगिएको खरेलले बताए ।
हावाहुरीले अधिकांश काठ तथा फुसका घरलाई क्षति र्पुयाएको छ । घरको बार र छाना उडाएपछि परेको पानीले स्थानीयले भण्डारण गरेको खाद्यान्नमा समेत क्षति पुगेको स्थानीय पदम थापाले बताए ।
रेडक्रसका अनुसार ४० घर हावाहुरीले पूर्ण क्षति र्पुयाएको छ । २४० घरमा आंशिक क्षति पुगेको छ । धान, मकै लगायतका बालीनालीमा समेत असिनाले क्षति र्पुयाएको छ । ‘असिनाले धेरैको मकै सोत्तर बनायो’, स्थानीय रमेश कोइरालाले भने ।
हावाहुरीले आवतजावत गर्न नसक्ने गरी बिजुलीका पोल सडकमा ढालेको छ । २ सयभन्दा बढी बिजुलीका पोल ढलेकोले बैगुनधुरा, दूधे र बैगुनधुरा तुलाचन सडक अवरुद्ध छ ।
शिवसताक्षी नगरको न्यू पाथिभरा इङ्लिस बोर्डिङ स्कुलको छाना हावाहुरीले उडाउँदा विद्यालयका १० जना विद्यार्थी घाइते भए । विद्यार्थीको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकृत डिएसपी हरिप्रसाद शर्माका अनुसार प्रहरीलाई आएको प्रारम्भिक रिपोर्टमा ४ जना मात्र घाइते भएका छन् ।
यो समाचार तयार पार्दा सम्म ती क्षेत्रमा भारी वर्षा भइरहेको छ भने विद्युत् आपूर्ति ठप्प छ । विवेचनाबाट ।