काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको एक थान मतपेटीका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले जलाएको छ ।
निर्वाचन सम्पन्न भएपछि मतपेटिका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा अचानक ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द (विप्लव) का कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए ।
‘नन्दादेवी मावि मतदान केन्द्रको एउटा मतपेटीका जलाएका छन्’ रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै प्रजिअ सुवेदीले भने, ‘गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा अचानक घेरेर आगो लगाए ।’ अहिले सो स्थानमा दोहोरो भिडन्त भइरहेको छ ।
प्रहरी स्रोतकाअनुसार विप्लव समूहले मतपेटीका जलाउन थालेपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका थिए ।
नरहरिनाथ गाउँपालिकाको माल्कोटस्थित मतदान केन्द्रमा आइतबार दिनभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र मतदान सम्पन्न भइसकेपछि विप्लव कार्यकर्ताले शिल गरिएको ब्यालेट बक्स खोस्न खोज्दा झडप भएको प्रजिअ सुवेदीले बताए ।
निर्वाचन सम्पन्न भएपछि सुरक्षाकर्मीलाई घेरा हालेपछि घेरा तोड्ने क्रममा बल प्रयोग भएको उनले बताए ।
उक्त मतदान केन्द्रको माथिल्लो भागमा आइतबार विहान दुई सकेट बम नेपाली सेनाले निश्क्रिय पारेको थियो ।
विप्लव पार्टीका क्रान्तिकारी विद्यार्थी केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्माले सुरक्षामा खटिएको प्रहरी निर्वाचन अधिकृतलाई लिएर भागेको टेलिफोन गरी जानकारी दिएका छन् ।
साविकको माल्कोट गाविसमा मतपेटिका कब्जा गर्ने क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप पनि भएको र झडपमा परी ६ जना घाइते भएको विश्वकर्माले बताए ।
घटनास्थल सदरमुकाम मान्मबाट सात आठ घण्टाको पैदल दूरीमा पर्दछ । घटनाबारे सुरक्षा निकायमा छलफल भइरहेको प्रजिअ सुवेदीले बताए ।
कालीकोटमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । रातोपाटीबाट