काठमाडौं, २३ जेठ । लाजिम्पाटस्थित पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा २४ घण्टा प्रहरी पहरा छ । घर तथा व्यक्तिगत सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरीका ३० भन्दा बढी सुरक्षाकर्मी उनका वरिपरि परिचालित छन् , जसको नेतृत्व गर्छन् सशस्त्र प्रहरीका डीएसपी ।
आजको नेपाल साप्ताहिक अगाडि लेख्छ– सर्वाधिक बलियो सुरक्षा घेराभित्र रहने शीर्ष नेपाली नेता हुन् प्रचण्ड । तर त्यति बजबुत सुरक्षा घेराभित्र रहँदासमेत उनका पुत्र प्रकाश दाहालले चाहिँ आफूलाई सुरक्षित महसुश गर्न सकेका रहेनछन् ।
त्यसको पुष्टि गर्छ, महिनाअघि प्रकाशले जिल्ला प्रशासन कार्यालयमा नीजि सुरक्षाको लागि हतियार आयात गरी राख्न पाउनको लागि दिएको निवेदनले ।
गृहमन्त्रालय स्रोतका अनुसार प्रकाशले शक्तिबहादुर बस्नेत गृहमन्त्री भएको दुई महिनापछि हतियारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।
तर, पटक–पटकको प्रयासका बाबजुत हतियार राख्ने उनको चाहना पूरा हुन पाएको छैन । प्रकाशले पेस्तोलकै माग गरेका थिए । तर कानुनअनुसार त्यो पूरा नहुने देखेपछि उनले १२ बोर बन्दुक एउटा, त्यसको टोटा एक सय ओटा र २२ बोरको राइफल एउटा र त्यसमा प्रयोग हुने गोली दुई सय थान आयात गरी राख्न पाउने इजाजतको लागि जिल्ला प्रशासनमा विधिवत निवेदन दिएका हुन् ।
