विर्तामोड । सदुपयोग गर्ने हो भने सामाजिक संजाल समाजका लागि बरदानसिद्ध हुन्छ । यसको उदाहरण बनेका छन झापाका फेसबुक प्रयोगकताहरु ।
केही दिन अघिदेखि झापाका सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने युवाहरु झापाका विभिन्न स्थानमा यात्रीहरुलाई पानी बेचिरहेका छन् । पानी बेच्ने उनीहरुको उदेश्य पैसा कमाएर मोजमस्ती र पार्टी पिकनिक गर्ने नभई पानीबाट भएको नाफाले बिर्तामोडका बाबु आमा विहीन एक बालकको उपचार खर्च जुटाउने हो ।
बिर्तामोडका अभिषेक श्रेष्ठको उपचारका लागि सामाजिक संजाल फेसबुकमा एउटा ग्रुपले सबै बिर्तामोडवासीहरु एक भएर बालकको जीवनरक्षा गर्नका लागि अपील गर्यो । न्यूनतम ८ लाख खर्च लाग्ने र अति विपन्न भएका कारण सो खर्च जुटाउन असम्भव भएकाले सहयोगका लागि गरिएको अपीलले झापा लगायत देश विदेशमा बस्ने सबै जुर्मुराएका छन् । MRR, WRR, Nepalese Teens, Welfare of Nation, Dari Gang, Helping Hands लगायतका फेसबुक ग्रुपहरु सक्रिय बने र उनीहरुलाई साथ दिए अरु केही बाल क्लवहरुले ।
फेसबुकमा सबैले विचार सम्प्रेषण गरे कुराकानी गरे अनि सबै सक्रिय भए अभिषेक बचाउ अभियानमा ।
सो अभियानमा फेसबुक ग्रुपका साथीहरुले पानी बेच्ने निर्णय गरे र सोमबार दमकका बिभिन्न स्थानमा उनीहरुले पानी बेचे । उनीहरुको यो अभियानमा दमकका एक सिटी सफारी चालक बद्री ओझाले दिनभर सिटी सफारी निशुल्क उपलब्ध गराईदिएर थप सहयोग गरे ।
यस्तै अभिषेक श्रेष्ठ बचाउ अभियानमा सहयोग गर्ने दाताले पनि यो कार्यको प्रशंसा गरेका छन् । हुन त हरेक चिजको सहि सदुपयोग गर्न सके धेरै नै फाईदा पुग्छ ।
यहि सामाजिक संजालले नै लुकेका र लुकाईएका खबरहरु बाहिर आउँने गरेको छ । अझ यहि सामाजिक सञ्जालकै सदुपयोगबाट धेरैको जिवन रक्षा भएको छ । चाहे तत्कालै रगतको आवश्यक्ता पर्दा होस् चाहे खर्च अभावमा बिछ्यौनामा छट्पटाएर बसेका बिरामीले नै किन नहोस् ।
अभिषेक श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावका लागि जनता बैंकमा उनको नाममा रहेको खाता नं. ००९१०१०३०२५१२०९ मा सहयोग जम्मा गरिदिन हुन विभिन्न संघ–संस्था साथै सम्पूर्ण व्यक्तित्वहरुमा अनुरोध गरिएको छ ।