झापा । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।
दुई नम्बर गणका एसपी विक्रम चन्दको नेतृत्वमा रहेको चार पाँच जना प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।
आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।
साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।
सिलवालले बालुवाटारस्थित निवास पुगेर कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता शम्भू थापालाई लिएर प्रहरी हेडक्वार्टर गएका हुन् ।
वरिष्ठ अधिवक्ता थापाले पनि आफू सिलवालसँगै प्रहरी हेडक्वार्टर गएको बताए ।
प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको तर पक्राउ नगरेको दाबी गरे ।