विर्तामोड । झापाको बिर्तामोडमा एक्वारियम हाउस सञ्चालनमा आएको छ । होटल, घर तथा अफिस सजावटका लागि विभिन्न जातका माछाहरु सहितको आधुनिक एक्वारियम पसल सञ्चालनमा आएको हो ।

बिर्तामोड १० का विशाल राईले ११ लाख ६३ हजार रुपैँयाको लागतमा आरबिल एक्वारियम हाउस सञ्चालनमा ल्याएका हुन ।
झापाका मुख्य शहरहरुलाई लक्षित गरी एक्वारियम हाउस सञ्चालनमा ल्याएको शुक्रबार आयोजित उद्घाटन समारोहमा राईले जानकारी दिए ।
उक्त एक्वारियम हाउसको जिल्ला कृषी विकास कार्यालय झापाका बरिष्ठ कृषी विकास अधिकृत प्रकास डाँगीले उद्घाटन गरे । एक्वारियमहरु ग्राहकको रोजाई अनुसार निर्माण गरी उपलब्ध गराईने सञ्चालक राईले बताएका छन ।

भारतको कोलकत्ता र जलपाइगुडीबाट ४० भन्दा धेरै प्रजातीका माछा ल्याई एक्वारियम बनाईएको सञ्चालक राईको भनाई छ । आरबिलमा १ हजार ५ सय देखी १ लाख ५० हजार सम्मका एक्वारियमहरु पाईने जनाईएको छ ।
२ बर्ष अघिदेखी बिर्तामोड १० फेसबुक चोकमा विशाल कृषी फार्म सञ्चालन गर्दै आएका राईले व्यवसायीक माछा पालन, लोकल कुखुरा पालनका साथै अग्र्यानिक तरकारी खेती समेत गर्दै आएका छन ।
भारतको पश्चिम बंगाल र जलपाईगुडीका प्राविधिकहरुबाट माछा पालन र एक्वारियम व्यवसाय सम्बन्धि प्राविधिक ज्ञान हासिल गरेको बताउने राईले माछालाई चाहिने दाना तथा औषधी उपचार र सल्लाह समेत दिने बताए ।
उनले घर तथा पसल सजावटका गर्न साथै वास्तुशास्त्रीय दृष्टिले पनि घर भित्र एक्वारिमय राख्नु उपयुक्त हुने बताएका छन ।
सो अवसरमा बोल्दै बरिष्ठ कृषी विकास अधिकृत डाँगीले कृषी उद्यम गर्न चाहने यूवाहरुका लागि कृषी विकास कार्यालयले विभिन्न कार्यक्रम मार्फत सघाउने बताए ।