वीरगन्ज, २१ जेठ । भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी –आईसीपी) बनाएको छ ।
वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।
आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको निर्माणकार्य जारी छ ।
दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
तर भारत सरकारले आफ्नोतर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दूरीमा बनाएको छ भने नेपालतर्फको पर्खाल दसगजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ करिब १७ गज भित्र पर्ने गरी बनाएको छ ।
भारत सरकारले नेपाली भूमि मिचेर आईसीपीको पर्खाल बनाएको भन्दै वीरगन्ज अलौं सिवानटोलका बासिन्दाले गुनासो गरेपछि यही जेठ ११ गते क्षेत्रीय प्रशासक मुकुन्दराजप्रकाश घिमिरे नेतृत्वको उच्च अधिकारी सम्मिलित टोलीले आईसीपीको स्थलगत निरीक्षण गरेको थियो ।
टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख विदुर खड्का, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ र सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा पनि सहभागी थिए ।
निर्माणाधीन आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहको सीमा स्तम्भभन्दा ठिक १०–१० गजको दुरीमा दुवै देशतर्फ बनाउनुपर्नेमा भारतले नेपाली भूमि बढी मिचेर पर्खाल बनाएको स्थानीय बासिन्दाको गुनासो आएपछि स्थलगत निरीक्षण गरिएको टोलीमा सहभागी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख खड्काले बताए ।