काठमाडौं । तोडिएको किर्तिमान फर्काउन ८५ बर्षीय वयोवृद्ध मिनबहादुर शेरचन दोस्रोपटक सगरमाथा आरोहणका लागि आधार शिविरतर्फ लागेका छन् । शेरचन सोमबार हिमाल आरोहणका लागि प्रस्थान गरेका हुन् ।
१७ नाति नातिना र ६ पनातिका हजुरबुवा ८५ बर्षिय मिनबहादुर शेरचनले सन २००८ मा सगरमाथा आरोहण गरि सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्नेको कीर्तिमान बनाएका थिए । त्यो बेला उनी ७६ बर्षका थिए ।
करीब ५ बर्षपछि २०१३ मा उनको त्यो रेकर्ड जापानका ८० बर्षीय आरोहीले तोडे । आफ्नो त्यही कीर्तिमानलाई कायम राख्न मिनबहादुर शेरचन फेरि ८५ बर्षको उमेरमा बिश्वकै अग्लो सगरमाथा आरोहण गर्न हिँडेका हुन् ।
आफ्नो रेकर्ड तोडिए लगत्तै शेरचनले सगरमाथा आरोहणका लागि तयारी गरिरहेका थिए । तर कहिले आर्थिक समस्या त कहिले कहिले अनुमति नपाएका कारण उनको प्रयास सफल हुन सकेको थिएन ।
२०१५ मा फेरि प्रयास गर्दा भुकम्पको क्षतिका कारणले उनले अनुमति पाएनन् । यसपटक भने उनले अनुमति पाएका छन् ।
हिमाली क्षेत्रमा जन्मेका कारण उनलाई लेक लाग्ने समस्या छैन जुन अरुको लागि प्राण घातक हुनसक्छ । समस्या छ केवल अनुमान गर्न नसकिने मौसमको मात्र । उनले आफु सफल हुन्छु भन्ने कुरा बताएका छन् ।