झापा । नयाँ बर्षको आरम्भसँगै पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया, धिमाल लगायत समुदायको महान चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ ।
मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने ति समुदायले आजदेखि तीनदिनसम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् । सिरुवा पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाइँदैछ ।
वर्षको पहिलो दिन अर्थात अाज पानी छ्यापा–छ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ । बर्षभरी शितलता प्राप्त होस भन्दै पानी सिरुवा खेल्ने चलन छ ।
त्यस्तै बैशाख २ गते अर्थात भोलि ‘काद’ सिरुवा मनाउने प्रचलन छ । आदिवासी समुदायका ति जातिले आफूलाई भूमिपुत्रका रुपमा चित्रण गर्दै ‘काद’ सिरुवा मनाउने गर्छन् । माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापा–छ्याप गरि ‘काद’ सिरुवा मनाउने गर्छन् ।
विशेषतः हिलो माटो खेलेर नयाँ कृषिबाली लगाउने तयारीका लागि र रोगव्याधी हटोस् भन्ने मान्यता अनुसार काद सिरुवा मनाउने प्रचलन छ ।
त्यस्तै सिरुवा पर्वको अन्तिम तथा तेस्रो दिन बैशाख ३ गते ‘रंग’ सिरुवा मनाईने गरिन्छ । बर्षभरी आफूले इच्छाएका विभिन्न चाहानाहरु पुरा होस भन्ने कामनाका साथ एक आपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ ।
सिरुवा पर्वमा राजवंशी समुदायले झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीका विभिन्न स्थानमा लाग्ने सिरुवा मेला घुम्नुका साथै सामूहिक रुपमा सिरुवा कार्यक्रमहरु आयोजना गरि आपसमा शुभकामना आदान प्रदान गर्ने चलन पनि छ ।