फिक्कल । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् ।
सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।
गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् ।
त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताए ।
उनले त्यहाँस्थित चियाबारी एफएम, इलाम एफएम, पाथीभरा एफएममा आउने बिहानका भजन र दिउँसो आउने विभिन्न गीत सुनाएर दूध उत्पादनमा कमी आउन नदिन गाईलाई रेडियो सुनाएको जानकारी दिए ।
गाईवस्तु तनावमुक्त भएपछि दूध उत्पादन नघट्ने उनले बताए । सफा, चटक्क परेको गाईगोठमा अनेकौँ कृषक उनले सञ्चालन गरेको फार्मबाट मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि, तरिका सिकेर फर्किन्छन् ।
व्यावसायिकरुपमा अधिकतम ४० वटा होल्स्टेन नामक उन्नत जातका गाईपालन गरेर दैनिक रु १० हजार ५०० सम्म आम्दानी लिनुभएका रेग्मीले अहिले दैनिक १५० लिटर दूध उत्पादन भइरहेको बताए ।