भद्रपुर । भर्खरै झापाको साविक पृथ्वीनगर गाविस भद्रपुर नगरपालिकामा समावेश भयो । भद्रपुर नगरपालिका क्षेत्रकै सडक मार्गको अवस्था राम्रो नहुँदै पृथ्वीनगरलाई पनि भद्रपुरमा गाभेपछि विकास निर्माणका केही काम होला कि भन्ने एउटा आश छ भने अर्को तिर अहिलेसम्म नबनेका विकासका काम अब बन्छ भन्ने त्यति भरपर्दो आशा पनि छैन ।
त्यस्मा पनि चारआली केचना सडकको हालत विगत धेरै बर्षदेखि उस्तै छ । तर भद्रपुर दक्षिणका केही स्थानमा उक्त सडक बन्ने शुरु भएदेखि बाटो बन्छ भन्ने झिनो आशा भने पलाएको छ । तर अहिले पनि यात्रु बसको अभावमा अलि अलि गुडेका यात्रु बसमा छतमा बसेर समेत सर्वसाधारणले यात्रा गर्नुपर्ने बाध्यता छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा , देश निर्वाचनमय हुँदै गएको छ । कतै उम्मेद्वार घोषणा त कतै भोटका लागि आ(आफ्नो पार्टीबाट स्थानीयमाझ जाने क्रम शुरू भएको छ ।
तर झापाको दक्षिणी भेगका जनतामा भने कुनै उत्साह छैन । उनीहरू भन्छन्, चुनाव आएनी गएनी हामीलाइ केही फरक पर्दैन । हरेक चुनावमा उठ्ने उम्मेद्वारले देखाउने आशा हो चारआली केचना सडक बनाइदन्छौं । नेताहरू जित्छन् तर बाटो कहिले बन्दैन । उनीहरू यसरी त्रासमा यात्रा गर्छन्।
झापा पृथ्वीनगरका काशिनाथ घिमिरेका अनुसार बर्षौंदेखि पीडित पृथ्वीनगर तथा त्यहाँभन्दा दक्षिणका जनता जीर्ण सडककै कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अर्का स्थानीयबासी विष्णु खरेलले पनि अहिलेसम्मका जनप्रतिनिधिले दक्षिण झापाका सर्वसाधारणको जीवन रेखाको रुपमा रहेको उक्त सडक निर्माणमा चासो नदिएको गुनासो गरे ।