भद्रपुर । बुद्धशान्ति गाउँपालिका १ का ४८ बर्षिय भेषराज घिमिरे म्यादी प्रहरीका लागि आवदेन दिन आइतबार विहानैदेखि जिल्ला प्रहरी कार्यालय झापामा लामबद्ध थिए । उनले म्यादी प्रहरी भएर भए पनि देशको सेवा गर्ने मौका आएको भएकाले आवेदन दिन आएको प्रतिक्रिया दिए ।
मेचीनगर नगरपालिका १२ का सन्तबहादुर खड्का लामो समय विदेशमा बसे । उनी आइतबार म्यादी प्रहरीको आवेदन दिन जिल्ला प्रहरी कार्यालय आएका थिए ।
स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गरि खुलेको म्यादी प्रहरीको आवेदन गर्नेहरुमा स्नातक तह उत्तीर्ण गरेकाहरुको समेत आवेदन परेको जिल्ला प्रहरी झापाले जानकारी दिएको छ ।
आइतबार साँझसम्ममा जिल्ला प्रहरी कार्यालय झापामा आवेदन गर्नेहरुको संख्या एक हजार नाघेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
म्यादी प्रहरीका लागि सामान्य लेखपढ गर्न सक्ने र नेपाली नागरिकता भएका व्यक्तिले आवेदन दिन पाउने छन् । तर सामान्य लेखपढ गर्ने आवेदकहरुको संख्या अत्यन्त न्यून भएको समेत प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
म्यादी प्रहरीमा भर्ना हुनेले करीब दुई महिना समय वर्दीमा विताउनेछन् । उनीहरुको सेवा सुविधा प्रहरी जवान सरहको हुनेछ ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा पुग्दा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेहरुको घुईंचो लागेको थियो ।