विर्तामोड । रुद्रगौरी श्री–अम्बिका प्रतिष्ठानले विभिन्न विधाका स्राष्टा तथा सङ्घ संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसरी पुरस्कृत हुने व्यक्ति तथा सङ्घ संस्थाको नाम प्रतिष्ठानले शनिवार झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
झापाको कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीलाई रु एक लाख एक हजार १११ राशि सहित अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार, काठमाडौँका सृष्टि महर्जनलाई रु ५१ हजार १११ राशिसहित देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार, मानवसेवा आश्रम हेटौँडालाई रु एक लाख एक हजार १११ सहित गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार र झापाकै श्री महारानीझोडा साना किसान कृषि सहकारी संस्थालाई रु एक लाख एक हजार १११ सहित रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार प्रदान गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
आगामी वैशाख ४ गते विर्तामोडमा एक समारोहबीच उनीहरुलाई सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले जानकारी दिनुभयो ।
समाजमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट व्यक्ति, सङ्घ संस्थाको प्रतिभा र कार्यको संरक्षण, प्रवद्र्धन एवम् प्रोत्साहन गर्ने उद्देश्ले स्व श्रीप्रसाद ओलीको स्मृतिमा रु एक करोडको अक्षय कोष खडा गरी त्यसवाट उक्त पुरस्कार २०६९ सालदेखि प्रतिष्ठानले वितरण गर्दै आएको छ ।