विर्तामोड । सोमबार झापाको विर्तामोडको हुनमान सेन्ट्रल अगाडि सांगीतिक कार्यक्रम भइरहँदा त्यस्को करीब ५० मिटर पश्चिममा रहेको पोखरेल मार्केटका सटरहरुमा होली मनाउन आएकाहरुले पिसाब फेरेका छन् ।
पोखरेल मार्केटका करीब आधा दर्जन सटरहरुमा रक्सी तथा भांगले मातेकाहरुले पिसाब फेरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । होलीका बेला सोमबार विर्तामोड बजारका सबै पसल बन्द रहेका थिए ।
विर्तामोडका रत्न सुपर मार्केट, पोखरेल मार्केट तथा कृषि थोक बजारका इलाकामा पसल बन्द रहेका बेलाको मौका छोपेर जबरजस्तीका घटना समेत हुनसक्ने भन्दै केही सर्वसाधारणले प्रहरी खटाइमाग्दै थिए ।
यसैबीच नियम विपरित बाइक चलाएको भन्दै ट्राफिक प्रहरीले झापाभर चारसय वटा बाइक नियन्त्रणमा लिएको छ ।

विहान करीब ८ बजेबाट सडकमा खटिएका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर बाइक चलाउने, विना हेल्मेट तथा सवारी चालक अनुमति पत्र नभएकाहरुको बाइक नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
उनीहरुलाई सवारी नियम अनुसार जरिमाना गरेर मात्र छाडिने उनले बताए ।