झापा । तराईमा पर्ने झापा जिल्लालाई सरकारले तराईबाट हटाएर पहाडसँग जोडेर होली पर्वको सरकारी बिदा स्वीकृत गरेपछि कर्मचारीसहित झापाली जनता अन्योलमा परेका छन् ।
पहाडी जिल्लामा मनाइने होली पर्वको भोली पल्ट झापासहित तराईका २० जिल्लाबासी सो पर्व मनाउदै आएकोले सरकारको निर्णयले झापाली जनता अलमलमा परेका छन् ।
सरकारले तराईमा पर्ने २० जिल्ला मध्ये १९ जिल्लामा होली पर्वको विदा सोमबार हुने र झापालाई अल्गाएर आइतबार पारेको २०७२ चैत १८ गते प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ ।
राजपत्रमा उल्लेख बमोजिम नै जिल्ला प्रशासन कार्यालय झापाले झापाका सबै सरकारी कार्यालयलाई आइतबार सार्वजनिक बिदा गर्ने भनि जानकारी गराइसकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाका अनुसार विगतमा तराईमा पर्ने झापाको विदा यसबर्ष नमिल्ने बताउदै राजपत्र बमोजिम नै सार्वजनिक विदा हुने बताए ।
सरकारले झापालाई तराईबाट अल्गाएर पहाडको पर्वसंग जोडिएर विदा स्वीकृत गरेपछि झापाली जनता आइतबार की सोमबार होली मनाउने दुविधामा छ ।
तर, झापाबासी भने सोमबार नै होली मनाउने पक्षमा रहेको बुझिएको छ ।