काठमाडौं । सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सप्तरी मलेठ-२ का सञ्जन मेहता र दिगम्बर यादव तथा सप्तरी मलेठ-४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरीले जनाएकाे छ।
झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा धरानमा मृत्यु भएको हो। त्यस्तै प्रहरीको गोली लागेर मेहता र दिगम्बर यादवको घटनास्थलमै मृत्यु भएको थियो। अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएकाे छ ।
सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न नछोडेपछि प्रहरीले गोली चलाएको थियो।